ललितकला क्याम्पसका विद्यार्थीको ‘सिन्थेसिस’ कला प्रदर्शनीलाई सयौँको अवलोकन
काठमाडौँ,पुस २२ । ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म आयोजना गरेको कला प्रदर्शनी ‘सिन्थेसिस’ लाई सयौँ दर्शकले अवलोकन गरेका छन्। ब्याचलर अफ फाइन आट्र्स (बिएफए) अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेखनीय सहभागिताले विद्यार्थीको हौसला बढाएको प्रदर्शनीमा सहभागी सागर चाम्लिङ राईले बताउनुभयो।
गत बिहीबारदेखि सोमबारसम्म सञ्चालन भएको प्रदर्शनीमा ३२ जना विद्यार्थीका करिब दुई सय वटा चित्रकला, मूर्तिकला तथा ग्राफिक्स कृतिहरू प्रदर्शनमा राखिएको थियो। ‘सिन्थेसिस’ प्रदर्शनीले स्नातक तह पूरा गर्न लागेका विद्यार्थीहरूले चार वर्षसम्म निरन्तर अभ्यास गर्दै आएका कलात्मक सिर्जनाको सार प्रस्तुत गरेको छ।
ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति नारदमणि हार्तम्छालीका अनुसार प्रदर्शनीले विद्यार्थीहरूको व्यक्तिगत खोजसँगै साझा शैक्षिक तथा सिर्जनात्मक अनुभवलाई प्रभावकारी रूपमा प्रतिविम्बित गरेको छ। उहाँले सहकार्यात्मक अवधारणामा तयार पारिएको यस प्रदर्शनीले विविध अभ्यास, सामग्री र दृष्टिकोणलाई एउटै क्युरेटोरियल ढाँचाभित्र एकत्रित गर्न सफल भएको उल्लेख गर्नुभयो।
प्रदर्शनीमा समावेश प्रत्येक कृतिले फरक–फरक व्यक्तिगत अन्वेषण प्रस्तुत गरे पनि समष्टिगत प्रस्तुतीकरणले कृतिहरूबीच संवाद र अन्तरक्रियालाई जोड दिएको सहभागी राईले बताउनुभयो। यसले एकीकृत दृश्यात्मक तथा वैचारिक कथानक निर्माण गर्न मद्दत गरेको उहाँको भनाइ छ।
बिएफए प्रदर्शनी २०२६ उदीयमान कलाकारका लागि महत्वपूर्ण उपलब्धि मात्र नभई नयाँ सिर्जनात्मक आवाजसँग सार्वजनिक संलग्नताको प्रभावकारी प्लेटफर्मका रूपमा समेत स्थापित भएको छ।

