राष्ट्रिय सभा निर्वाचनमा एमाले–कांग्रेस सहकार्य गर्ने निर्णय



काठमाडौँ,पुस २२ । नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य गर्ने निर्णय गरेको छ। मङ्गलबार बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार प्रत्येक प्रदेशबाट एक–एक जना उम्मेदवार रहनेगरी कांग्रेससँग सहकार्य गर्ने विषयमा बैठकमा छलफल भएको थियो। कांग्रेससँगको तालमेलमा सिट बाँडफाँट तथा उम्मेदवार चयनको जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।

कांग्रेससँगको छलफल अन्तिम निष्कर्षमा नपुगेकाले थप वार्ता र समन्वयका लागि अध्यक्ष ओलीलाई जिम्मेवारी दिइएको उपमहासचिव भट्टले जानकारी दिनुभयो।

यसैगरी बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन आवश्यक विभिन्न समिति गठन गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्