पश्चिमी जापानमा ६.४ म्याग्निच्युडको भूकम्प, दर्जनौँ घाइते



टोकियो,पुस २२ । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प आउँदा धेरै जना घाइते भएका छन्। स्थानीय मिडियाका अनुसार भूकम्पका कारण शिमाने र टोटोरी प्रान्तमा बढी क्षति पुगेको छ।

जापान मौसम विज्ञान विभागका अनुसार भूकम्प स्थानीय समयअनुसार बिहान १०ः१८ बजे पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटर गहिराइमा आएको हो। भूकम्पको केन्द्र ३५.३ डिग्री उत्तरी अक्षांश र १३३.२ डिग्री पूर्वी देशान्तरमा रहेको जनाइएको छ।

मुख्य भूकम्पपछि सोही क्षेत्रमा स्थानीय समयअनुसार १०ः२८ र १०ः३७ बजे क्रमशः ५.१ र ५.४ म्याग्निच्युडका दुई पराकम्प आएका जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले जनाएको छ। भूकम्पका कारण शिमाने प्रान्तको माट्सु सहरमा चार जना घाइते भई अस्पताल भर्ना गरिएको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ। त्यस्तै, सहरका धेरै घरका छानामा क्षति पुगेको छ।

छिमेकी टोटोरी प्रान्तको सकाइमिनाटो सहरमा सडकमा दरार परेको सूचना स्थानीय प्रहरीले प्राप्त गरेको जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट दक्षिणतर्फ रहेको हिरोसिमा प्रान्तको फुकुयामा सहरमा पनि दुई जना घाइते भएका छन्।

जेएमएका अनुसार भूकम्पको परिमाण ६.२ म्याग्निच्युड रहेको उल्लेख गर्दै पश्चिमी टोटोरी प्रान्तमा लामो अवधिको भू–गति (लङ–पिरियड ग्राउन्ड मोसन) अवलोकन गरिएको छ। यस्तो भू–गतिले ठूला र अग्ला भवनहरूलाई लामो समयसम्म हल्लाउने भएकाले माथिल्ला तल्लामा रहेका मानिसहरूमा बढी असर पर्न सक्ने चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्