कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा विमलेन्द्र निधीमाथि दुर्व्यवहार, संलग्नता अस्वीकार



काठमाडौँ,पुस २२ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा पूर्वउपसभापति विमलेन्द्र निधीमाथि दुर्व्यवहार गरेका छन्। यद्यपि, विशेष महाधिवेशन पक्षधर समूहले उक्त घटनालाई कार्यकर्ताको अन्तरआत्माबाट उत्पन्न स्वतःस्फूर्त प्रतिक्रिया भएको बताउँदै आफ्नो संलग्नता नरहेको दाबी गरेको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेताहरूले घटनाको जिम्मेवारी आफूहरूले नलिने स्पष्ट पारे। कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय जाँदै गरेका नेता निधीलाई बाटो छेकेर दुर्व्यवहार गरिएको थियो। तर उक्त घटनामा संगठनात्मक रूपमा आफूहरूको कुनै भूमिका नरहेको उनीहरूको भनाइ छ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले घटनालाई स्वतःस्फूर्त रूपमा भएको प्रतिक्रिया भन्दै आफूहरू यस्ता गतिविधिमा संलग्न नहुने स्पष्ट गर्नुभयो। उहाँले विशेष महाधिवेशनका लागि तयारी सुरु भइसकेको जानकारी दिँदै यसका लागि १८ वटा विभिन्न समिति गठन गरिएको पनि बताउनुभयो।

उहाँले विशेष महाधिवेशनमा सहभागी हुन देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौँ आउन आग्रह गर्दै पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ बनाउन विशेष महाधिवेशन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्