दूध दुहुने प्रतियोगिता हुँदै
चितवन,पुस २२। चितवनमा पहिलो पटक पशुपालक किसानहरूबिच दूध दुहुने प्रतिस्पर्धात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।भरतपुरका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्दै आएका २० जना किसानलाई छनोट गरी कार्यक्रम निर्माण गरिएको हो।
कार्यक्रममा किसानहरूको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धता लगायतका विभिन्न पक्षहरूको मूल्याङ्कन गरिने निर्माता रविन सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो संस्करणप्रतिको प्रतिक्रिया हेरेर आगामी दिनमा कार्यक्रमलाई अझ वृहत् बनाउँदै लैजाने योजना रहेको छ। नयाँ पुस्तालाई पशुपालनसँग जोडिएको मेहनत र सङ्घर्षको कथा पनि यस शोमार्फत रोचक रूपमा प्रस्तुत गरिनेछ।
हरेक मङ्गलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने उक्त शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएममार्फत पनि प्रसारण गरिने जनाइएको छ। कार्यक्रम संयोजक गोविन्द न्यौपानेले किसानलाई ‘आइडल’ का रूपमा स्थापित गर्ने उद्देश्यले शो निर्माण गरिएको बताउनुभयो। खेतीले मुख्य प्रायोजन गरेको यस कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको छ।
कार्यक्रमका निर्णायक मण्डलमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थ विज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक डा. शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डे रहनुभएको छ।

