आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा



काठमाडौँ,पुस २३ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा विश्वकप टोली सार्वजनिक गरेको हो। पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपाली सिनियर राष्ट्रिय टोलीमा समावेश भएका छन्।यस्तै बसिर अहमद पनि विश्वकप टोलीमा अटाएका छन्।

घोषित टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा र शेर मल्ल रहेका छन्।

यसपटकको टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्ल भने समावेश भएका छैनन्। तेस्रो पटक आईसीसी टी–२० विश्वकप खेल्न लागेको नेपाल समूह ‘सी’ मा परेको छ। यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन्, जसलाई कठिन समूहका रूपमा लिइएको छ।

नेपालले माघ २५ गते इङ्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। कुल ५५ खेल समावेश विश्वकपको फाइनल फागुन २४ गते हुनेछ।नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकपमा सहभागिता जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्