माघे सङ्क्रान्ति नजिकिँदै गर्दा सखरखण्डको व्यापार फस्टाउँदै
घोराही, पुस २३ — माघे सङ्क्रान्ति नजिकिँदै जाँदा बजारमा सखरखण्डको व्यापार बढेको छ। पर्वमा सखरखण्ड खाने परम्पराका कारण किसानहरू उत्पादन खन्ने र बिक्रीमा व्यस्त छन्।
देउखुरी क्षेत्रका किसानहरूले राप्ती नदीको उकास जमिनमा व्यवसायिक रूपमा सखरखण्ड खेती गर्दै आएका छन्। किसान रामछोर यादवले तीन बिगा जमिनमा खेती गरी हालसम्म करिब डेढ लाख रुपैयाँको बिक्री गरिसकेको बताउँदै यस वर्ष उत्पादन राम्रो भए तीन लाख ५० हजारसम्म आम्दानी हुने अपेक्षा व्यक्त गर्नुभयो। सेतो सखरखण्ड प्रतिकिलो ४०–४५ र रातो ४५–४९ रुपैयाँमा बिक्री भइरहेको छ।
कम लगानी र मेहनतमा राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय धेरै किसान सखरखण्ड खेतीतर्फ आकर्षित भएका छन्। देउखुरीमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुरसहित कोहलपुर र सुर्खेतसम्म पुग्ने गरेको छ। स्थानीय तहका अनुसार छोटो समयमा राम्रो आम्दानी दिने भएकाले सखरखण्ड खेती किसानका लागि लाभदायक बन्दै गएको छ।

