कोरलानाकाबाट आयात–निर्यात कारोबार घट्दो, भन्सार कार्यालय सुनसान



मुस्ताङ,पुस २३। नेपाल–चीन उत्तरी नाका कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय न्यून हुँदै गएको छ। तातोपानी र रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि कोरलानाकाबाट हुने व्यापारिक गतिविधि घटेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।
कोरलानाकास्थित चिनियाँ भन्सारबाट नेपाल भित्रिने मालवाहक कन्टेनरको सङ्ख्या उल्लेख्य रूपमा घटेको सूचना अधिकारी निमेन्द्र सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार हाल भन्सार जाँचपासका लागि आठ–दशवटा मालवाहक कन्टेनर मात्र पेन्डिङमा रहेका छन्। ती बाहेक हाल नयाँ कन्टेनर भन्सार कार्यालयमा नआएको उहाँले बताउनुभयो।

यसअघि तातोपानी र रसुवागढी नाका बन्द हुँदा कोरलानाकाबाट दैनिक १५ देखि २० वटा मालवाहक कन्टेनर भन्सार जाँचपास हुने गरेका थिए। तर अहिले ती नाका खुलेसँगै कोरलानाकाबाट हुने कारोबार लगभग शून्यजस्तै अवस्थामा पुगेको सूचना अधिकारी सिंहको भनाइ छ।
गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट हालसम्म साढे पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ। यस नाकाबाट ११ अर्ब रुपैयाँभन्दा बढीको मालवस्तु आयात भएको छ भने नेपालबाट करिब १९ करोड रुपैयाँ बराबरको हस्तकला तथा स्वदेशी उत्पादन चीनतर्फ निर्यात भएको भन्सार कार्यालयले जनाएको छ।

कोरलानाकाबाट हालसम्म दुई हजार १०० भन्दा बढी विद्युतीय सवारी नेपाल भित्रिएका छन्। पछिल्लो समय बिवाइडी कम्पनीका करिब ५०० भन्दा बढी विद्युतीय कार यही नाकाबाट आयात गरिएको सूचना अधिकारी सिंहले जानकारी दिनुभयो।

वैकल्पिक नाकाका रूपमा प्रयोग हुँदै आएको कोरलानाकाबाट सामान ढुवानी गर्दा लागत बढी पर्ने भएकाले व्यापारीहरू तातोपानी र रसुवागढी नाकातर्फ आकर्षित भएको देखिन्छ। आयात–निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारीसमेत फुर्सदिला भएका छन्।

यद्यपि भन्सार कार्यालय प्रमुख निमेन्द्र सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि कोरलानाकाबाट आयात–निर्यात पूर्ण रूपमा बन्द नहुने दाबी गर्नुभयो। “विगतजस्तो ठूलो परिमाणमा कारोबार नहोला, तर कतिपय व्यापारीका लागि कोरलानाका अझै पनि सहज विकल्प हो,” उहाँले भन्नुभयो।

हाल कोरलानाका क्षेत्रमा चहलपहल कम भएको छ। प्रतिकूल मौसमका बाबजुद केही कर्मचारी भन्सार कार्यालयमै खटिएका छन्। समुद्री सतहदेखि चार हजार ६१० मिटर उचाइमा व्यापार गर्दै आएका व्यापारी, मालवाहक कन्टेनर चालक तथा स्थानीय युवाहरू नाकाको गतिविधि घटेपछि जाडो छल्न बेँसी झरेका छन्।

प्रतिक्रिया दिनुहोस्