बाघटार कोलनीमा निःशुल्क आँखा स्वास्थ्य तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन
नुवाकोट,पुस २३ । लायन्स आँखा उपचार केन्द्र, बाघटार कोलनीमा निःशुल्क आँखा स्वास्थ्य शिविर तथा मोतियाबिन्दु भएका बिरामीका लागि शल्यक्रिया सेवा सुरु गरिएको छ। शिविरको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको हो।
यही पुस १६ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको आँखा जाँच शिविरमा एक हजार २५० जना बिरामीले सेवा लिएका थिए। तीमध्ये मोतियाबिन्दु पहिचान भएका १३५ जना बिरामीको निःशुल्क शल्यक्रिया गर्न दुईदिने विशेष शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
विदुर नगरपालिकाको सहकार्यमा लायन्स क्लब नुवाकोट त्रिशूली, लायन्स क्लब नुवाकोट दरबार तथा लायन्स क्लब बाघटार कोलनीको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो। मोतियाबिन्दु शल्यक्रियाका लागि वि.पि. कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको प्राविधिक सहयोग रहेको छ।
उद्घाटन समारोहमा नगरप्रमुख श्रेष्ठसँगै वडा नम्बर ९ का अध्यक्ष हरिराम भण्डारी, लायन्स क्लब डिस्ट्रिक ३२५ जे का डिस्ट्रिक सिनियर एडभाइजर श्रीकृष्ण रिजाल, लायन्स क्लब नुवाकोट त्रिशूलीका सचिव राजुबाबु श्रेष्ठ, लायन्स क्लब नुवाकोट दरबारका अध्यक्ष यादव अधिकारी, लायन्स क्लब नुवाकोट क्यापिटलका युवराज अमात्य तथा वि.पि. कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यक्रम संयोजक प्रकाश शर्मा लगायत लायन लिडर र सरोकारवाला महानुभावहरूको उपस्थिति रहेको थियो।
शिविरले ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई आँखा उपचारमा सहज पहुँच पुर्याउने विश्वास लिइएको आयोजक संस्थाहरूले बताएका छन्।

