“राष्ट्रियसभा निर्वाचनका लागि देशभर उम्मेदवार दर्ता, माघ ११ मा मतदान”
काठमाडौँ, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारको मनोनयन दर्ता भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभाका रिक्त १८ सदस्यका लागि निर्वाचन गर्नेछ।
आयोगका अनुसार पुस २४ गते उजुरी दर्ता, पुस २७ गते नाम फिर्ता तथा अन्तिम नामावली प्रकाशन, पुस २८ गते निर्वाचन चिन्ह वितरण हुनेछ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष मतदाता रहनेछन्।
नेपाली कांग्रेसले नौ उम्मेदवार टुङ्ग्याएको छ भने नेकपा (एमाले) बाट आठ जना उम्मेदवार मैदानमा छन्। यस्तै, नेकपाले विभिन्न प्रदेशबाट उम्मेदवार चयन गरेको छ। मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको छ।
मधेस प्रदेशमा दलित, महिला, अपाङ्गता/अल्पसंख्यक र अन्य गरी चार सिटका लागि निर्वाचन हुँदैछ।

