विदुर–किस्पाङ सडक स्तरोन्नति कार्यको नगरप्रमुखद्वारा स्थलगत अवलोकन



नुवाकोट, पुस २३ । विदुर नगरपालिका वडा नं ९ स्थित कोलनीबाट भैँसेँ–सोले हुँदै किस्पाङ गाउँपालिकाको सातदोबाटो जाने सडकको स्तरोन्नति तथा व्यवस्थित निर्माण कार्यको नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गर्नुभएको छ।

ठेक्का सम्झौताअन्तर्गत सञ्चालनमा रहेको सडक निर्माण कार्य तोकिएको मापदण्डअनुसार समयमै सम्पन्न होस् भन्ने उद्देश्यले नगरप्रमुख श्रेष्ठले निर्माण स्थलको निरीक्षण गर्दै आवश्यक निर्देशन दिनुभएको हो। कोलनीबाट सुरु भई सोले, मनकामना, काउले भाल्चे, साल्मे किम्ताङ हुँदै दाङसिंह सडकखण्डअन्तर्गत पर्ने उक्त योजनाका लागि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)को पहलमा १२ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

गत जेठ महिनामा सम्झौता भई आगामी जेठसम्म सम्पन्न गर्ने लक्ष्यसहित प्रसिद्धि–सुन्दरादेवी–आई.एस. जे.भी. नुवाकोटमार्फत सडक निर्माण कार्य भइरहेको छ। निर्माणका क्रममा देखिएका विवाद तथा समस्या समाधानका लागि सहजीकरण गर्दै नगरप्रमुख श्रेष्ठले तोकिएको अवधिभित्र गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्माण व्यवसायीको ध्यानाकर्षण गराउनुभएको छ।

स्थलगत अवलोकनका क्रममा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रवीन्द्र नेपाल, प्राविधिक टोली तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्