शंकरापुरमा बस दुर्घटना : पिकनिकबाट फर्कँदै गरेका २२ जना घाइते
काठमाडौँ,पुस २३। शंकरापुर नगरपालिका–३ स्थित जंगल क्षेत्रमा भएको बस दुर्घटना पिकनिकबाट फर्कँदै गरेको क्रममा भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार साँझ करिब ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो।
एसपी पवन भट्टराईका अनुसार सडकबाट करिब १०० मिटर तल खसेको बस रुखमा अड्किएको अवस्थामा फेला परेको थियो। दुर्घटनापछि तत्कालै प्रहरी टोलीले उद्धार कार्य सञ्चालन गरेको थियो। बसमा ३५ देखि ४० जना यात्रु सवार रहेको र ‘नेचर हब’ नामक संस्थाका कर्मचारीहरू पिकनिक सकेर फर्कँदै गर्दा दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा घाइते भएका २२ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। उनीहरूको उपचार साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, अत्तरखेललगायतका अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र थप विवरण संकलन भइरहेको जनाइएको छ।

