कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा पुस २७–२८ मा केन्द्रीय विशेष महाधिवेशन आह्वान
काठमाडौँ, पुस २३ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर समूहले यही पुस २७ र २८ गते काठमाडौँमा केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले विधानको मर्म र भावनाअनुसार विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो। उहाँले महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सक्रिय र उत्साहपूर्ण सहभागिताका लागि आग्रह गर्नुभयो।
पोखरेलले वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउने दिशामा विशेष महाधिवेशन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। साथै, महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो।
गठन गरिएका समितिमा पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रीय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद तथा पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति रहेका छन्। त्यसैगरी जिल्ला सम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन तथा जिल्ला–क्षेत्र फोकल पर्सन समन्वय समिति पनि गठन गरिएको जनाइएको छ।
उहाँले पार्टी विधानको धारा १५ अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय भएकाले त्यसले लिने निर्णय वैध हुने उल्लेख गर्दै पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्व लिने विश्वास व्यक्त गर्नुभयो।
पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहमा देखिएको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधर समूहले महाधिवेशन आह्वान गरेको हो। यसअघि पार्टी कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै केन्द्रीय कार्यसमितिको कार्यअवधि आगामी जेठ मसान्तसम्म थप गरिसकेको छ।

