शंखरापुरमा बस दुर्घटना अपडेट: तीन जनाको मृत्यु, दर्जनौँ घाइते



काठमाडौँ, पुस २३ । काठमाडौँको शंखरापुर नगरपालिका–३ मा आज साँझ बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ।

शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटनामा परेको हो। दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो।

प्रहरीका अनुसार अर्को सवारी साधनलाई उछिन्ने क्रममा बस अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दै रुखमा अड्किएको हो। घटनापछि बसलाई क्रेनमार्फत निकाल्ने प्रयास भइरहेको छ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, मुलपानी नगर अस्पताल र सुष्मा कोइराला अस्पताल साँखुमा उपचारका लागि पठाइएको छ। सबै यात्रुको उद्धार कार्य सम्पन्न भइसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

बस दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्