मन्त्री कुलमान घिसिङको राजीनामा, प्रधानमन्त्री कार्कीले व्यक्त गरिन् धन्यवाद



काठमाडौँ,पुस २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिनुभएको छ। उहाँले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरी राजीनामापत्र बुझाउनुभएको हो।

प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको कार्यकालमा तीनवटा महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व सफलतापूर्वक सम्हालेकोमा घिसिङलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। “निकै प्रतिकूल अवस्थामा सरकारमा सामेल भएर देशका निम्ति ठूलो योगदान दिनुभयो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “रातदिन नभनी काम गर्नुभयो, देशका विभिन्न भागमा पुग्नुभयो र विपद्का बेला आफैं घटनास्थलमा खटिनुभयो।”

प्रधानमन्त्री कार्कीले विकास निर्माणका क्षेत्रमा देखिएका बेथितिविरुद्ध घिसिङले कठोर कदम चालेको उल्लेख गर्दै त्यसको मूल्याङ्कन देश र जनताले गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्ने शुभकामनासमेत दिनुभयो।

राजीनामा बुझाउने क्रममा प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई सम्मानस्वरूप खादा पहिराइदिनुहुँदै उहाँ निःस्वार्थ भावनाले सरकारमा आएको र कुनै सुविधा नलिई सेवा गरेको उल्लेख गर्नुभयो। “तपाईँ आफ्नो स्वार्थले होइन, हामीले नै निम्त्याएर सरकारमा ल्याएका हौं,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “आउँदा दिनमा देशका लागि अझै ठूलो योगदान दिन सक्नुहुनेछ।”

प्रतिक्रिया दिनुहोस्