मन्त्री कुलमान घिसिङद्वारा राजीनामा पेस, प्रधानमन्त्री कार्कीको धन्यवाद



काठमाडौँ,पुस २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको छ। उहाँले बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी राजीनामापत्र बुझाउनुभएको हो। मन्त्री बनेको ११५ दिनमै उहाँले राजीनामा दिनुभएको हो।

प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको अवधिमा तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा घिसिङलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो। “निकै प्रतिकूल अवस्थामा सरकारमा सामेल भएर देशका निम्ति ठूलो योगदान दिनुभयो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “रातदिन नभनी खटिनुभयो, देशका विभिन्न भागमा पुग्नुभयो र विपद्का बेला आफैं घटनास्थलमा खटिनुभयो।”

प्रधानमन्त्री कार्कीले विकास निर्माणका क्षेत्रमा देखिएका बेथितिविरुद्ध घिसिङले कठोर कदम चालेको उल्लेख गर्दै त्यसको मूल्याङ्कन देश र जनताले गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्ने शुभकामनासमेत दिनुभयो।

राजीनामा बुझाउने क्रममा प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई सम्मानस्वरूप खादा पहिराइदिनुहुँदै उहाँ कुनै स्वार्थ नराखी सरकारमा सहभागी भएको उल्लेख गर्नुभयो। “तपाईँ आफ्नो रहरले होइन, हामीले नै निम्त्याएर सरकारमा ल्याएका हौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “जेनजी युवाले समेत तपाईँको माग गरेका थिए। कुनै सुविधा नलिई निःस्वार्थ सेवा गर्नुभयो।”

मन्त्री घिसिङले पनि अन्तरिमकालमा सेवा गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री कार्कीप्रति आभार व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्