काठमाडौँ उपत्यकामा ३८ प्रतिशत सार्वजनिक सवारी प्रदूषण मापदण्डविपरीत



काठमाडौँ, पुस २४ । काठमाडौँ उपत्यकामा गुड्ने करिब ३८ प्रतिशत सार्वजनिक सवारी साधन वायु प्रदूषणको मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ। तोकिएको मापदण्डभन्दा दोब्बर हानिकारक कालो धुवाँ फाल्ने यस्ता सवारीका कारण चिसो मौसममा उपत्यकाको वायु प्रदूषण झनै तीव्र भइरहेको वातावरण विभागले जनाएको छ।

वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार बबरमहल क्षेत्रमा गरेको संयुक्त छड्के जाँचमा ३७ वटा सवारीमध्ये १२ वटा (करिब ३३ प्रतिशत) सवारी मापदण्डविपरीत भेटिएपछि कारबाही गरिएको हो। जाँच गरिएका सवारीमध्ये अधिकांश हायस र साना चारपाङ्ग्रे सवारी रहेका विभागले जनाएको छ।

विभागकी मेकानिकल इन्जिनियर लक्ष्मी श्रेष्ठका अनुसार सामान्यतया स्मोक डेन्सिटी (धुवाँको घनत्व) बढीमा ६५ हुनुपर्नेमा जाँचका क्रममा ९८ सम्म पुगेको पाइएको छ। यस वर्ष विभागले १४९ वटा सवारी जाँच गर्दा ६५ वटा सवारी वातावरणीय मापदण्डविपरीत भेटिएका छन्, जुन कुल जाँचको करिब ३८ प्रतिशत हो।

इन्जिनियर श्रेष्ठले भन्नुभयो, “विगतमा पनि प्रदूषण गर्ने सवारीको अवस्था यस्तै थियो। जाँच हुँदा थोरै जरिवाना तिर्नुपर्छ भन्ने सोचले बेवास्ता गरिएको देखिन्छ। तर समयमै मर्मत गरे सवारी सुरक्षित र वातावरणमैत्री दुवै हुन्छ।”

समयमै सवारी मर्मत नगर्नु, ‘भेहिकल फिट्नेस’ प्रमाणपत्र (स्टिकर) नलिनु तथा मापदण्ड कार्यान्वयनमा लापरवाहीका कारण उपत्यकामा वातावरणीय प्रदूषण बढिरहेको विभागको भनाइ छ। ट्राफिक प्रहरीका अनुसार प्रदूषण मापदण्डविपरीत चल्ने सवारी दुर्घटनाको जोखिममा पनि रहने गर्छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “प्रदूषणयुक्त गाडीले अन्य चालक, सहचालक र सर्वसाधारणलाई असर गर्छ। यस्ता गाडी दुर्घटनाको जोखिममा पनि हुन्छन्।”

स्रोतसाधनको अभावका कारण वर्षभर नियमित प्रदूषण जाँच गर्न नसकिएको विभागले जनाएको छ। काठमाडौँ महानगरपालिकाले पनि निरन्तर जाँच गर्न कठिनाइ भइरहेको बताएको छ। उपत्यकाबाहिरका सहरमा त झन् जाँच हुन नसकिरहेको अवस्था छ।

वातावरणीय प्रदूषणले विशेषगरी वृद्धवृद्धा, गर्भवती महिला र बालबालिकामा प्रतिकूल असर पार्ने विभागको चेतावनी छ। वायु प्रदूषण बढ्दै जाँदा मुटुरोग, क्यान्सर, दम, खोकी, एलर्जी र फोक्सोसम्बन्धी रोगको जोखिम बढ्ने जनाइएको छ। सवारी साधन, उद्योगधन्दा, धुलो, परागकण र डढेलोबाट निस्कने धुवाँ वायु प्रदूषणका मुख्य कारण हुन्।

बुधबार मात्रै काठमाडौँको रत्नपार्क, शङ्खपार्क, भक्तपुर र धुलिखेललगायत स्थानमा वायु प्रदूषणको अवस्था ‘रेड जोन’ मा पुगेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्