खाद्य कम्पनीद्वारा १० केन्द्रबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद
काठमाडौँ, पुस २४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न १० वटा कार्यालयमार्फत एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ।
कम्पनीले गत कात्तिक ११ गतेदेखि धनगढीबाट धान खरिद प्रक्रिया सुरु गरेको थियो। पुस २१ गतेसम्म धनगढी, महेन्द्रनगर, नेपालगन्ज, राजापुर, बिर्तामोडलगायत १० केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार निर्धारित कोटा पूरा भएपछि पाँच केन्द्रबाट धान खरिद हाललाई स्थगन गरिएको छ। धनगढी, महेन्द्रनगर, नेपालगन्ज, राजापुर र बिर्तामोड केन्द्रमा कोटा अनुसार तथा कतिपयमा कोटाभन्दा बढी धान खरिद भइसकेकाले खरिद प्रक्रिया रोकिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।
सबैभन्दा बढी कोटा तोकिएको धनगढी र राजापुर केन्द्रले लक्ष्यभन्दा बढी धान खरिद गरेका छन्। धनगढी केन्द्रमा सुरुआती ३५ हजार क्विन्टलको कोटामा थप गरी करिब ३९ हजार क्विन्टल धान खरिद भएको छ भने राजापुर केन्द्रमा मोटा र मध्यम गरी करिब ३० हजार क्विन्टल धान खरिद भएको कम्पनीले जनाएको छ।
यस वर्ष कम्पनीले १३ वटा केन्द्रबाट धान खरिद गर्ने योजना बनाए पनि लहान, जुम्ला र पोखरामा भने अझै खरिद प्रक्रिया सुरु हुन सकेको छैन। प्रमुख कार्यकारी अधिकृत आचार्यका अनुसार ती केन्द्रमा मसिना धान खरिद गर्ने तयारी भए पनि जुटका बोरा अभावका कारण ढिलाइ भएको हो। जेनजी आन्दोलनका क्रममा लहान गोदाममा रहेका बोरा चोरी भएपछि समस्या देखिएको उहाँले बताउनुभयो। हाल बोरा खरिदको प्रक्रिया सुरु भइसकेको उहाँको भनाइ छ।
कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना बनाएको भए पनि ती धान पर्याप्त नपाएकाले प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ। हाल विराटनगर, भैरहवा, जनकपुर, वीरगन्ज र तुलसीपुर केन्द्रबाट धान खरिद भइरहेको छ।
कम्पनीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। गत वर्ष सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित दुई अर्ब ६५ करोड रुपियाँ बजेट छुट्याइएको भए पनि एक लाख २० हजार क्विन्टल मात्र धान खरिद हुन सकेको थियो।
गत वर्ष निजी व्यापारीले सरकारले तोकेको समर्थन मूल्यभन्दा बढी मूल्य दिएपछि कम्पनी लक्ष्यअनुसार धान खरिद गर्न नसकेको थियो। यस वर्ष भने निजी व्यापारीले समर्थन मूल्यभन्दा आठ सयदेखि एक हजार रुपियाँसम्म सस्तो मूल्य दिएको हुँदा कम्पनीलाई लक्ष्य पूरा गर्न सहज भएको जनाइएको छ। कम्पनीले मोटा धान बजार मूल्यभन्दा औसत आठ सय रुपियाँ र मध्यम धान छ सय रुपियाँभन्दा बढी मूल्यमा खरिद गरेको जनाएको छ।
प्रमुख कार्यकारी अधिकृत आचार्यले बजार मूल्यभन्दा महँगोमा धान खरिद गर्नुपरेकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग मूल्य शोधभर्नाको माग गरिएको जानकारी दिनुभयो। मन्त्रालयबाट बजार मूल्य र कम्पनीले खरिद गरेको मूल्यबीचको अन्तर उपलब्ध भए कोटाभन्दा बढी धान खरिद गर्न सकिने उहाँले बताउनुभयो।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ तोकेको छ। कम्पनीले धान खरिदबापतको रकम अनलाइन माध्यमबाट सिधै किसानको बैङ्क खातामा जम्मा गर्दै आएको जनाएको छ।

