बर्दियामा प्रहरीको गोली लागेर लागुऔषध कारोबारी पक्राउ, एक घाइते
बर्दिया,पुस २४ । बर्दियामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लका अनुसार लागुऔषध चेकजाँचका क्रममा प्रहरीमाथि आक्रमण गर्दै भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको हो। प्रहरीको गोली लागेर भारतको बहराइच जिल्ला मोतिपुर थाना लौकाही बजारका ३१ वर्षीय फिरोज खान घाइते हुनुभएको छ।
प्रहरीले चलाएको दुई राउण्ड गोलीमध्ये एक राउण्ड गोली फिरोज खानको दायाँ खुट्टामा लागेको प्रहरीले जनाएको छ। घाइते खानको बर्दिया अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले खानको साथबाट दुई सय ८३ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको छ। खानसँगै रहेका अर्का एक जना लागुऔषध कारोबारी भने घटनास्थलबाट फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
लौकाही बजार नेपाल–भारत सिमावर्ती क्षेत्र भएकाले बर्दियामा कारोबार हुने अधिकांश लागुऔषध भारतको लौकाही र बलैबजार क्षेत्रबाट आउने स्थानीयवासीले बताउँदै आएका छन्। भारतीय सिमावर्ती बजारमा खुलेआम लागुऔषध बिक्री हुने गरेको आरोप छ, जसका कारण बर्दियाका बालबालिका तथा युवाहरू कुलतमा फस्ने जोखिम बढ्दै गएको स्थानीयहरूको गुनासो छ।

