प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० म्यादी प्रहरी भर्ना आह्वान



काठमाडौँ, पुस २४ गते । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्नाका लागि आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो।

सूचनाअनुसार यही पुस २५ गतेदेखि आगामी माघ १ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ। दरखास्त दिने उम्मेदवारले फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार निर्वाचन प्रहरीमा नेपाली नागरिक, साधारण लेखपढ गर्न जान्ने, कुनै नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ तथा आतङ्ककारी वा विध्वंसात्मक सङ्गठनसँग आवद्ध नरहेको व्यक्ति योग्य मानिनेछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्व वनरक्षक, साथै गत माघदेखि यही पुस मसान्तसम्म सुरक्षा सङ्गठनमा विभिन्न पदका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्य परीक्षण उत्तीर्ण गरेका व्यक्तिलाई पनि निर्वाचन प्रहरीका रूपमा छनोट गरिनेछ।

यसअघि सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई समेत प्राथमिकतामा राखिने जनाइएको छ।कार्यतालिकाअनुसार माघ ५ गतेदेखि ९ गतेसम्म प्रारम्भिक छनोट गरिनेछ भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित हुनेछ। छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण प्रदान गरिनेछ। निर्वाचन प्रहरीको कार्यावधि नियुक्ति मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ।

यसैबीच निर्वाचन प्रहरीको सेवा–सुविधा पनि सार्वजनिक गरिएको छ। निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरुआती तलब स्केलअनुसार प्रतिदिन ८ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्म कुल ३४ हजार ७७६ रुपैयाँ पाउनेछन्। साथै, सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाउने दररेटअनुसार खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा जम्मा गरिनेछ।

निर्वाचनका क्रममा खटिने निर्वाचन प्रहरीलाई एक पटकका लागि तयारी खर्चबापत ८ सय ४६ रुपैयाँ, चार दिनका लागि प्रतिदिन ३ सयका दरले १ हजार २०० रुपैयाँ खाजा खर्च तथा तोकिएबमोजिमको दररेटअनुसार पोसाक खर्च उपलब्ध गराइनेछ। कर्तव्य पालनका क्रममा घाइते भएमा स्वयंले र मृत्यु भएको खण्डमा नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्ने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्