म्याग्दीको चिउरीबोट जंगलबाट पाँच थान अवैध भरुवा बन्दुक बरामद
म्याग्दी, पुस २४ । म्याग्दीको मालिका गाउँपालिका–४ स्थित चिउरीबोट जंगलमा लुकाइछिपाइ राखिएका पाँच थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ जंगलमा लुकाइएको अवस्थामा ती भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो।
जंगल क्षेत्रमा अवैध हातहतियार लुकाइएको सूचना पाएपछि दरवाङबाट प्रहरी टोली परिचालन गरिएको उहाँले बताउनुभयो। बरामद भरुवा बन्दुकहरू मुचुल्का गरी इलाका प्रहरी कार्यालय दरवाङमा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले सञ्चालन गरिरहेको अवैध हातहतियार खोजी अभियानअन्तर्गत यसअघि पनि इजाजत प्राप्त नभएका १ सय १५ थान भरुवा बन्दुक जिल्लाका विभिन्न स्थानबाट बरामद गरिसकेको छ। हालसम्म अभियानका क्रममा कुल १ सय २१ थान भरुवा बन्दुक नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बरामद भएका बन्दुकहरू केहीले बस्न छाडेका पुराना घर, गोठ तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका हुन्।
वन्यजन्तुको चोरी शिकारी नियन्त्रण, समाजमा शान्ति सुरक्षा कायम, अवैध गतिविधि नियन्त्रण तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अवैध हातहतियार सङ्कलन अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताउनुभयो। प्रहरीले अवैध रूपमा लुकाइछिपाइ राखिएका हातहतियारबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सबैलाई आग्रह गरेको

