कुलमान घिसिङसँगको सहमतिलाई पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारीमा रास्वपा



काठमाडौँ, पुस २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्व मन्त्री कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टीको आन्तरिक प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताउनुभएको छ।

चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले सरकारमै रहँदा घिसिङसँग सहमति भएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, “उहाँ सरकारमा रहनुभएको समयमै हामीबीच सहमति भएको थियो। अब उहाँले मन्त्री पदबाट राजीनामा दिएर आउनुभएको छ, त्यसैले सो सहमतिलाई पार्टी प्रक्रियामार्फत औपचारिकता दिने काम सुरु हुन्छ।”

केही साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपालबीच सहमति भएको थियो। उक्त सहमतिअनुसार घिसिङलाई रास्वपाको उपसभापतिसहित दोस्रो वरियतामा राख्ने निर्णय गरिएको जनाइएको छ।

सभापति लामिछानेको भनाइले पार्टी नेतृत्वमा नयाँ समीकरणको संकेत गरेको भन्दै राजनीतिक वृत्तमा यस विषयलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्