शिवपुरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कुम्भेश्वर माविलाई
नुवाकोट, पुस २४ । शिवपुरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि कुम्भेश्वर माध्यमिक विद्यालयले हात पारेको छ।
पुस २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज बिहीबार शिवपुरी गाउँपालिका–७ स्थित रंगशालामा सम्पन्न भएको हो। समापन समारोह गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालय सहभागी भएका थिए। कुम्भेश्वर माध्यमिक विद्यालयले ७ स्वर्ण, २ रजत र ९ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो। जानकी माध्यमिक विद्यालय ५ स्वर्ण पदकसहित द्वितीय र महेन्द्र माध्यमिक विद्यालय ४ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित तृतीय हुन सफल भएका छन्।
विभिन्न विधाका विजेता विद्यार्थी तथा विद्यालयलाई गाउँपालिका अध्यक्ष थपलियाले प्रमाणपत्र, मेडल, ट्रफी र नगद पुरस्कारसहित सम्मान गर्नुभयो। उहाँले विजेता विद्यालय तथा विद्यार्थीलाई बधाई दिँदै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नुभयो।
समापन समारोहमा गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङ,प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, युवा,शिक्षा तथा खेलकुद शाखाका प्रमुख पुष्करराज बिष्ट, प्रसिद्ध खेलाडी नुवाकोटे टाइगर, विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको कुम्भेश्वर माध्यमिक विद्यालयका शिक्षक प्रवीण थपलियाले जानकारी दिनुभयो ।

