नुवाकोट कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने विषयमा स्पष्ट दुई धार
नुवाकोट, पुस २४ । नेपाली कांग्रेस नुवाकोटमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयलाई लिएर स्पष्ट रूपमा दुई धार देखिएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं २ विशेष महाधिवेशनको पक्षमा उभिएको छ भने क्षेत्र नं १ नियमित महाधिवेशनकै पक्षमा देखिएको छ।
क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष जगतबहादुर तामाङले विशेष महाधिवेशनमा सहभागिता जनाउन महाधिवेशन प्रतिनिधि तथा पार्टीका क्रियाशील सदस्यहरूलाई अपिल जारी गर्नुभएको छ। उहाँले वर्तमान अवस्थामा नेपाली कांग्रेसलाई यथास्थितिमा राख्ने कि परिवर्तनसहित नयाँ नेतृत्वमार्फत निर्वाचनमा जाने भन्ने विषय निर्णायक भएकाले विशेष महाधिवेशनमार्फत परिवर्तनको पक्षमा उभिन आग्रह गर्नुभएको छ।
क्षेत्र नं २ मा रहेका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जनाले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेको दाबी गरिएको छ। हस्ताक्षर गर्ने प्रतिनिधिहरूमध्ये कसैले पनि हस्ताक्षर फिर्ता नलिएको बताइए पनि केही प्रतिनिधिले पार्टी विभाजनको अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्दै कार्यक्रममा सहभागी नहुने बताएका छन्।
यता क्षेत्र नं १ भने नियमित महाधिवेशनको पक्षमा उभिएको छ। क्षेत्रीय अध्यक्ष ध्रुव श्रेष्ठले विशेष महाधिवेशनले पार्टीलाई अझ कमजोर बनाउने र नयाँ पुस्ताको भावना समेट्न नसक्ने भन्दै आफूहरू नियमित महाधिवेशनकै पक्षमा रहेको बताउनुभयो। क्षेत्र नं १ मा रहेका २६ जना महाधिवेशन प्रतिनिधिमध्ये पाँच जनाले मात्रै विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेको बताइएको छ।
नुवाकोट कांग्रेस लामो समयदेखि अर्जुननरसिंह केसी र डा. प्रकाशशरण महत समूहमा विभाजित हुँदै आएको छ। पछिल्लो समय बहादुरसिंह लामा समूह पनि सक्रिय देखिएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदबाट हटाइएपछि लामा गगन थापामार्फत केसी समूहसँग नजिकिएको राजनीतिक विश्लेषण छ।
विशेष महाधिवेशनका लागि लामा निकट मानिने क्षेत्रीय अध्यक्ष जगत तामाङले सक्रिय रूपमा हस्ताक्षर संकलन गराउनुभएको थियो। क्षेत्र नं २ ले क्रियाशील सदस्यताको काम सम्पन्न गरी नयाँ–पुरानो दुवै केन्द्रमा बुझाइसकेको छ भने क्षेत्र नं १ मा भने वडा तहबाट क्षेत्रीय समितिसम्मको प्रक्रिया अझै पूरा हुन सकेको छैन।
पार्टी नेतृत्व तह दुई धारमा विभाजित भएसँगै नुवाकोट कांग्रेसका तल्लो तहका नेता–कार्यकर्ता भने पार्टी विभाजनको सम्भावनाप्रति चिन्तित देखिएका छन्।


