ऊर्जा मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हालाई



काठमाडौँ,पुस २४ । राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई तोक्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उक्त जिम्मेवारी तोकिएको हो। मौजुदा मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका मन्त्री कुलमान घिसिङले नेपालको संविधानबमोजिम राजीनामा दिएपछि नयाँ जिम्मेवारी बाँडफाँट गरिएको हो।

मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै कानुन, न्याय तथा संसदीय मामिला तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। अब उहाँलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अतिरिक्त जिम्मेवारी प्रदान गरिएको प्रवक्ता शाक्यले जानकारी दिनुभयो।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईलाई दिइएको छ भने सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्