विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व दुवै फेर्नुपर्छ : महामन्त्री गगन थापा



काठमाडौँ,पुस २४ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै परिवर्तन गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

महामन्त्री थापाले भदौ अन्तिम साता भएको ‘जेनजी विद्रोह’पछि मुलुकमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै सो परिवर्तनमा पार्टीको भूमिका कस्तो रह्यो भन्ने गहिरो विश्लेषण गर्न आवश्यक रहेको बताए। त्यसका लागि नीति र नेतृत्व दुवै परिवर्तन गर्नु अपरिहार्य रहेको उनको भनाइ थियो।

पार्टी विधानको पालना गर्दा पार्टी विभाजनतर्फ जान्छ भन्ने हल्ला किन फैलाइँदैछ भन्दै उनले संस्थापन पक्षलाई प्रश्न गरे। महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर भइसकेको र उक्त प्रस्ताव फिर्ता नहुने उनले स्पष्ट पारे।

महामन्त्री थापाले भने, “भदौ २२ गतेको नेपाल र भदौ २५ गतेको नेपाल एउटै होइन। त्यसपछि ठूलो परिवर्तन भयो। यो परिवर्तन किन र कसरी भयो ? यसमा हाम्रो भूमिका के रह्यो ? कहाँ सही भयौँ, कहाँ गलत भयौँ ? यी सबैको समीक्षा गरौँ। नीति पनि फेरौँ, नेता पनि फेरौँ। त्यसका लागि अधिवेशन गरौँ।”

उनले पार्टीमा युवा महामन्त्री आएपछि आफूहरूलाई स्वीकार नगरिएको गुनासो समेत व्यक्त गरे। साथै, पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनका लागि औपचारिक निमन्त्रणा पठाइसकेको जानकारी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्