राप्रपाद्वारा प्रधानमन्त्री कार्कीलाई पृथ्वी जयन्तीको चियापान समारोहमा निमन्त्रणा
काठमाडौं,पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी यही पुस २७ गते आयोजना हुने पृथ्वी जयन्ती विशेष चियापान समारोहमा सहभागिताका लागि औपचारिक निम्तो दिएको हो।
राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार भेटका क्रममा प्रधानमन्त्री कार्कीले चियापान कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस पुस २७ गते देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले पुर्याएको योगदानको स्मरण गर्दै विभिन्न स्थानमा श्रद्धाञ्जली तथा चियापान कार्यक्रम आयोजना गरिने जनाइएको छ।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौतीका बीच जनताको सक्रिय सहयोग र सहभागितामा छरिएर रहेका बाइसे–चौबिसे राज्यलाई एकीकरण गरी आधुनिक नेपालको जग बसाल्नुभएको इतिहासकारहरू बताउँछन्। पृथ्वी जयन्तीका अवसरमा उहाँको योगदानको स्मरण गर्दै राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ कार्यक्रमहरू आयोजना गरिँदै आएको छ।

