पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट दुई महिनामा करिब ९ हजार क्यूआर कोडयुक्त स्मार्ट लाइसेन्स छपाइ
काठमाडौँ,पुस २५। पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रमा पछिल्लो दुई महिनाको अवधिमा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ भएको छ। यातायात व्यवस्था विभागका अनुसार गत कात्तिक २१ गतेदेखि लाइसेन्स छपाइ सुरु भएयता हालसम्म आठ हजार ९८३ थान लाइसेन्स छापिएको छ।
जेनजी आन्दोलनका क्रममा विभागको ‘मास प्रिन्टर’ तोडफोड भएपछि रोकिएको लाइसेन्स छपाइ सुरक्षण मुद्रण केन्द्रबाट पुनः सुरु गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कात्तिक २१ गते केन्द्रमा प्रिन्टिङ प्रेसको बटन थिचेर औपचारिक रूपमा छपाइको शुभारम्भ गर्नुभएको थियो। यसअघि कात्तिक १२ गते केन्द्र र विभागबीच छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो।
यातायात व्यवस्था विभागका आइटी निर्देशक केशव खतिवडाका अनुसार हालसम्म छापिएका करिब नौ हजारमध्ये सात हजार लाइसेन्स वितरण भइसकेका छन्। उहाँले अत्यावश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको र हाल नयाँ ट्रायल पास भएका तथा नवीकरणका लागि आवेदन दिएकासहित करिब ३० लाख लाइसेन्स प्रिन्ट हुन बाँकी रहेको जानकारी दिनुभयो।
विभागले अब साधारण लाइसेन्स छपाइको तयारी गरिरहेको जनाएको छ। एकैपटक एक लाख ‘डाटा’ केन्द्रमा पठाउने तयारी भइरहेको खतिवडाले बताउनुभयो। केन्द्रले बाँकी ११ लाख ९१ हजार स्मार्ट कार्ड आगामी दुई महिनाभित्र छापिसक्ने लक्ष्य लिएको छ।
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार सुरुमा परीक्षण चरण भएकाले छपाइको गति सुस्त देखिए पनि अब माघ महिनादेखि नयाँ जनशक्ति थप गरी कामलाई तीव्र बनाइनेछ। उहाँका अनुसार माघदेखि दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने आन्तरिक तयारी भइरहेको छ।
केन्द्रबाट छपाइ भएका लाइसेन्स कार्डमा चिप्सको सट्टा क्यूआर कोड प्रयोग गरिएको छ, जसमा बहुस्तरीय सुरक्षा प्रणाली समावेश गरिएको छ। नयाँ कार्डमा छ तहसम्मका ३४ प्रकारका दृश्य तथा अदृश्य सुरक्षा विशेषता रहने केन्द्रले जनाएको छ।
लाइसेन्स छपाइसँगै केन्द्रले भविष्यमा हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा र भिसा स्टिकरसमेत छपाइ गर्ने तयारी गरिरहेको छ। केन्द्र पूर्ण रूपमा सञ्चालनमा आएपछि सुरक्षित मुद्रणका लागि वार्षिक रूपमा बाहिरिने अर्बौँ रुपैयाँ जोगिने अपेक्षा गरिएको छ।

