बेनी नगरपालिकाको आर्थिक–सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी, सेवा वितरण पारदर्शी
म्याग्दी,पुस २५ । बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक तथा सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बन्दै गएको छ। विकास योजना छनोटदेखि लक्षित समुदायमा कार्यक्रम सञ्चालन, सेवा–सुविधा, अनुदान तथा सहायता वितरण, आन्तरिक आम्दानी वृद्धि र विपद् व्यवस्थापनसम्म यो प्रणाली उपयोगी बनेको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख सुरत केसीका अनुसार प्रविधिको प्रयोगमार्फत अनुदान र सहायता वितरणलाई पारदर्शी बनाउँदै ‘पार्टी’ र ‘जाति’का आधारमा सेवा दिने प्रवृत्तिको अन्त्य गरिएको छ। उहाँले लक्षित समुदाय र वास्तविक आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न सूचना प्रणालीले ठूलो सहयोग गरेको बताउनुभयो। पहुँच, भनसुन र दबाबका आधारमा एकै व्यक्तिले दोहोरो–तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्था अन्त्य भएको उहाँको भनाइ छ।
बेनी नगरपालिकाले गत वर्षदेखि नेपालमै पहिलोपटक सबै घरपरिवारको विस्तृत विवरण समेटिएको सफ्टवेयरमा आधारित सूचना प्रणाली प्रयोगमा ल्याएको हो। यस प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ प्रकारका विवरण समावेश गरिएको छ। तीमध्ये १० किसिमका व्यक्तिगत सूचना गोप्य राखिएको छ। नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीलाई मात्र प्रणालीमा पहुँच र विवरण अद्यावधिक गर्ने अधिकार दिइएको छ।
सूचना प्रणालीकै आधारमा हालसम्म सात हजार ४४० घरमा क्यूआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ। यसले घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सहज भएको छ। साथै, घरबहाल कर संकलनमार्फत आन्तरिक आम्दानी वृद्धिमा समेत सहयोग पुगेको नगरप्रमुख केसीले बताउनुभयो।
यसै प्रणालीको प्रयोग गरी पहिचान गरिएका ३४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सम्बोधन परियोजनामार्फत रु २७ हजारका दरले बीउपुँजी अनुदान वितरण गरिएको छ। थप एक सय जनालाई रु ४० हजारका दरले व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको थियो। घरविहीन १३ परिवारलाई गत वर्ष आवास निर्माण गरिदिएको र यस वर्ष थप १३ परिवारलाई घर निर्माणका लागि रु तीन–तीन लाखका दरले अनुदान दिने बजेट विनियोजन गरिएको उपप्रमुख ज्योति लामिछानेले जानकारी दिनुभयो।
सूचना प्रणालीको अधिकतम प्रयोगले विकास आयोजना र कार्यक्रम लक्षित समुदायसम्म पुर्याउन सजिलो भएको जनप्रतिनिधि तथा कर्मचारीहरूको अनुभव छ। सहायता, अनुदान र राहत पाउने सबैको विवरण सफ्टवेयरमै उपलब्ध हुने भएकाले दोहोरो सुविधा वितरणको समस्या हटेको बताइएको छ।
युएनडिपीको सहयोगमा ‘कोड फ्युजन’ कम्पनीले विकास गरेको यो सफ्टवेयरको अवधारणा, डिजाइन र विवरण व्यवस्थापन नगरपालिकाकै सूचना प्रविधि अधिकृत खिम खत्री नेतृत्वको टोलीले गरेको हो। गैरसरकारी संस्था सङ्गमको सहयोगमा प्रत्येक बस्तीमा पुगेर घरधुरीको विद्युतीय माध्यमबाट विवरण सङ्कलन गरिएको थियो। बेनी नगरपालिकाको यो प्रणालीलाई म्याग्दीका मङ्गला, मालिका र अन्नपूर्ण गाउँपालिकाले पनि लागू गर्ने तयारी थालेका छन्। ती पालिकामा घरधुरी विवरण सङ्कलनको काम भइरहेको जनाइएको छ।

