राजमार्गमा डिजिटल टोल गेट : २२ स्थानमा रोड टोल पुनः सुरु
काठमाडौँ, पुस २५ । सरकारले राजमार्ग र सडकको मर्मतसम्भारलाई दिगो बनाउने उद्देश्यले मुलुकभरका राष्ट्रिय राजमार्गमा २२ वटा डिजिटल टोल गेट निर्माण सुरु गरेको छ । कोभिड–१९ का कारण रोकिएको सडक उपभोग दस्तुर (रोड टोल) अब आधुनिक प्रविधिमार्फत पुनः सङ्कलन गरिने भएको हो ।
सडक बोर्ड नेपालका अनुसार दस्तुर सङ्कलनलाई सहज, पारदर्शी र व्यवस्थित बनाउन डिजिटल प्रणाली अपनाइएको छ । यसअघि १४ स्थानमा सीमित रहेको टोल प्रणालीलाई विस्तार गर्दै भैरहवा–भूमही खण्डमा सञ्चालनमा ल्याइसकिएको छ भने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा आरएफआईडी प्रविधिबाट टोल उठाउने तयारी भइरहेको छ ।
सडक बोर्ड ऐन र नयाँ कार्यविधिअनुसार सवारीसाधनका प्रकारअनुसार फरक–फरक दरमा दस्तुर तोकिएको छ । बस, ट्रक र हेभी सवारीसाधनबाट बढी तथा कार, जिप र मोटरसाइकलबाट न्यून वा निःशुल्क दस्तुर लिने व्यवस्था गरिएको छ । नारायणगढ–मुग्लिङ, वीरगन्ज–पथलैया र धरान–विराटनगरजस्ता प्रमुख सडक खण्ड यसमा समेटिएका छन् ।
डिजिटल टोल गेटबाट सङ्कलित रकम सिधै सडक बोर्डको खातामा जम्मा हुने र सबै विवरण केन्द्रीय सूचना प्रणालीबाट निगरानी गरिनेछ । सरकारले सडक बनेर मात्र नपुग्ने, त्यसको मर्मतसम्भारका लागि प्रयोगकर्ताले नै योगदान गर्नुपर्ने विश्वव्यापी अभ्यासअनुसार रोड टोल लागू गरिएको स्पष्ट पारेको छ ।

