मोडुलर ओटीले ट्रमा सेन्टरमा घटायो सङ्क्रमण, बिरामीलाई छिटो निको हुने राहत



काठमाडौँ, पुस २५ । राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष (मोडुलर ओटी) सञ्चालनमा आएपछि शल्यक्रियापछि हुने सङ्क्रमण उल्लेख्य रूपमा घट्दै गएको छ । दुर्घटनाका अधिकांश घाइतेको शल्यक्रिया हुने सेन्टरमा पाँच वटा आधुनिक मोडुलर ओटी सञ्चालनमा ल्याइएपछि उपचारको गुणस्तर सुधार भएको हो ।

सेन्टरका निर्देशक डा. रुद्र मरासिनीका अनुसार शल्यक्रियापछि देखिने मुख्य चुनौती सङ्क्रमण नियन्त्रण हो । मोडुलर ओटी वैज्ञानिक डिजाइन, हावा फिल्टर प्रणाली र एकीकृत संरचनाका कारण सङ्क्रमण रोक्न प्रभावकारी देखिएको उहाँले बताउनुभयो । मोडुलर ओटी प्रयोगपछि बिरामी छिटो निको हुने, अस्पताल बसाइ अवधि घट्ने र चिकित्सकका लागि पनि सुरक्षित वातावरण बनेको छ ।

अस्पतालका स्वास्थ्यकर्मीका अनुसार मोडुलर ओटीमा सेन्सर प्रणाली, हावामा रहेका ब्याक्टेरिया र भाइरस हटाउने प्रविधि तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्थापन रहेको छ । यसले विशेषगरी दुर्घटनाबाट आएका गम्भीर घाइतेको शल्यक्रियामा सङ्क्रमणको जोखिम कम गरेको ट्रमा सेन्टरकी सङ्क्रमणसम्बन्धी फोकल पर्सन सोचना सापकोटाले जानकारी दिनुभयो ।

मोडुलर शल्यक्रिया कक्ष निर्माण गर्दा सेन्टरले सम्झौताभन्दा एक करोड ३६ लाख रुपैयाँभन्दा बढी रकम बचत गरेको छ । निर्माणमा ढिलाइ गरेबापत ठेकेदार कम्पनीलाई जरिबाना लगाइएकाले सरकारी स्रोतको संरक्षण भएको सेन्टरले जनाएको छ । गुणस्तरीय ग्लास र स्टेनलेस स्टिल प्यानल प्रयोग गरिएको यो मोडुलर ओटी सरकारी अस्पतालमध्ये अत्याधुनिक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्