अब तीन दिन कुर्नु पर्दैन, आज–भोलि नै राहदानी
काठमाडौँ, पुस २५ । राहदानीको चरम अभाव समाधान गर्दै राहदानी विभागले पछिल्लो डेढ महिनामा झन्डै चार लाख विद्युतीय राहदानी छपाइ गरी वितरण गरेको छ । यससँगै अत्यावश्यक राहदानीका लागि आवेदन दिनेले पनि अब तीन दिन कुर्नु नपर्ने र आजको भोलि नै राहदानी पाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार विद्युतीय राहदानीको सङ्क्रमणकालीन व्यवस्थापन अन्तर्गत हालसम्म तीन लाख ९६ हजार राहदानी छपाइ भइसकेको छ । गत मङ्सिर ५ गते फ्रान्सको आइडिमिया कम्पनीसँग सात लाख राहदानी छपाइ गर्ने सम्झौता भएको थियो । “अझै करिब एक लाख थान राहदानी एक–दुई दिनमै छपाइ भएर आउने क्रममा छ,” अर्यालले बताउनुभयो ।
बुधबारसम्म दुई लाख ६४ हजार ४८१ थान राहदानी जिल्ला तथा एकाइमा पठाइसकिएको विभागले जनाएको छ । पुस १५ गतेसम्म आवेदन दिएका सबै आवेदकको हातमा शुक्रबारसम्म राहदानी पुग्ने विभागको दाबी छ । वितरण प्रक्रिया सहज बनेपछि विभाग तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा देखिँदै आएको भीडसमेत घटेको छ ।
महानिर्देशक अर्यालले भन्नुभयो, “अत्यावश्यक राहदानीका लागि आवेदन दिनेहरूले अब तीन दिन कुर्नु पर्दैन, आजको भोलि नै राहदानी पाउने गरी वितरण थालेका छौँ ।” सहज आपूर्तिसँगै सेवाग्राहीले ठूलो राहत महसुस गरेका छन् ।
फागुनदेखि फेरि अभावको जोखिम
यद्यपि, आउँदो फागुनदेखि नयाँ कम्पनीमार्फत राहदानी छपाइ सुरु हुने भए पनि मेसिन तथा प्रविधि व्यवस्थापनमा दुईदेखि तीन महिना लाग्ने भएकाले तत्काल छपाइ सुरु नहुने सम्भावना छ । यसले फेरि राहदानी अभावको अवस्था आउन सक्ने विभागले जनाएको छ ।
नयाँ प्रविधि जडान र नमुना छपाइको प्रक्रिया जटिल रहेकाले चैतको अन्त्य वा वैशाखदेखि मात्र नयाँ राहदानी छपाइ सम्भव हुने अनुमान गरिएको छ । हाल मौज्दात रहेको राहदानीले आगामी दुई महिनासम्म माग धान्ने विभागको आकलन छ ।
दैनिक पाँचदेखि छ हजार राहदानी छपाइ तथा वितरण हुने क्रममा रहेको र माग अपेक्षाभन्दा बढे वैकल्पिक उपाय खोजिने महानिर्देशक अर्यालले स्पष्ट पार्नुभयो ।

