माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडौँ,पुस २५ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरिने निर्वाचन आचारसंहिताबारे जानकारी गराएका छन् ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त तथा उच्च अधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेट गरी निर्वाचनको तयारी, व्यवस्थापन र आचारसंहितासम्बन्धी विषयमा छलफल गरेका हुन् ।
आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी प्रधानमन्त्रीलाई गराएको छ । आचारसंहिता लागू भएसँगै सरकार, राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचनसम्बन्धी गतिविधि निर्धारित नियमअनुसार सञ्चालन गर्नुपर्नेछ ।
भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

