नेपाली कांग्रेस नुवाकोटमा विशेष महाधिवेशनको माग बलियो



नुवाकोट, पुस २५ । नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापासहित विभिन्न तहका कांग्रेस नेतृत्वले विशेष महाधिवेशनको पक्षमा खुला समर्थन जनाएका छन् । उपसभापति थापासँगै क्षेत्रीय अध्यक्ष जगतबहादुर लामा, महाधिवेशन प्रतिनिधि सिंहराज लामा, कांग्रेस विदुरका इकाई सभापति हरिलाल श्रेष्ठ, बेलकोटगढीका सभापति लेखनाथ मुड्बरी, तारकेश्वरका सभापति केशवराज अर्याल तथा ककनीका रणबहादुर लामा समेतले हालको राजनीतिक परिस्थितिमा पार्टी नयाँ नीति र नेतृत्वसहित जनतामा जानुपर्ने धारणा राख्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यबद्धता जनाएका हुन् ।

उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा यसअघि नै छुट्टै विज्ञप्ति जारी गरिसकेका नुवाकोट क्षेत्र नं. १ का क्षेत्रीय सचिव जगदीश कुँईककेल र शिव गुणीको समेत हस्ताक्षर रहेको छ । विज्ञप्तिमा पार्टीको संगठन सुदृढीकरण र जनविश्वास पुनःस्थापना गर्न विशेष महाधिवेशन आवश्यक रहेको उल्लेख गरिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा ५२ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । तीमध्ये बहुमत प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको संस्थापनइतर पक्षको दाबी छ । यद्यपि हस्ताक्षर गर्नेमध्ये माया सेर्पिनी र शिवराज अधिकारीले शुक्रबार आफ्नो हस्ताक्षर फिर्ता लिएको जनाइएको छ ।

यसैबीच जिल्ला सभापति रमेश महतसहित बहुमत महाधिवेशन प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा रहेको संस्थापन पक्षले दाबी गरेको छ । विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयलाई लिएर नुवाकोट कांग्रेसभित्र फरक–फरक धार स्पष्ट देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्