उत्तरी गोरखाका गाउँबस्ती फेरि टुकीको उज्यालोमा



गोरखा, पुस २६ । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न गाउँबस्तीहरूमा लघुजलविद्युत् आयोजनामा आएको खराबीका कारण विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दा पुनः टुकीको भरमा जीवन बिताउन बाध्य भएका छन् । चुमनुब्री–३ जगतका वीरबल घलेले सामाजिक सञ्जाल फेसबुकमा घरभित्र बलिरहेको टुकीको भिडियो पोस्ट गर्दै ‘हामी फेरि टुकीको युगमा पुग्यौं’ लेखेपछि समस्या सार्वजनिक भएको हो । त्यसै पोस्टमा धार्चे–२ केरौंजाका शुभराज घलेले पनि आफ्नो गाउँको अवस्था उस्तै रहेको भन्दै टुकीको तस्बिर सार्वजनिक गरेका छन् ।

१०० किलोवाट क्षमताको सामागाउँ लघुजलविद्युत् आयोजनाको टर्बाइन फुटेपछि सामागाउँ र साम्दोका गाउँबस्ती पूर्ण रूपमा विद्युत् सेवाविहीन बनेका छन् । उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर लामाका अनुसार आयोजना निर्माण भएको पाँच वर्षमै टर्बाइन बिग्रिएपछि उत्पादन बन्द भएको हो । टर्बाइन मर्मतका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउँदा चार लाख रुपैयाँ खर्च भएको भए पनि नेपालमै मर्मत हुन नसकेपछि भारतबाट सामग्री ल्याउनुपर्ने अवस्था आएको छ । मर्मतपछि पुनः हेलिकोप्टरबाट लैजान थप ६–७ लाख खर्च लाग्ने भए पनि कहिले विद्युत् सुचारु हुन्छ भन्ने निश्चित छैन ।

त्यसैगरी १०० किलोवाट क्षमताकै रुञ्चेतखोला जलविद्युत् आयोजनाको टर्बाइनमा आएको खराबी पनि अझै समाधान हुन सकेको छैन । आयोजनाको मर्मतसम्भार नहुँदा रुञ्चेतका २५२ र केरौंजाका गरी करिब सात सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीय दीपेन्द्र गुरुङले बताए । यस्तै ३५ किलोवाट क्षमताको जगत जलविद्युत् आयोजनाको टर्बाइन बिग्रिएपछि चुमनुब्री–३ का जगत, सल्लेरी र भालुवनका ७२ घरधुरीका बासिन्दा विगत एक महिनादेखि विद्युत् सेवाबाट वञ्चित छन् ।

यी मात्र नभई हाल उत्तरी गोरखाका आधा दर्जनभन्दा बढी गाउँबस्ती करिब एक महिनादेखि विद्युत्विहीन बनेका छन् । सामागाउँ र साम्दोमा मंसिरको अन्तिम सातादेखि करिब तीन सय घरधुरी अन्धकारमा छन् भने धार्चे–१ का रुन्चेत र केरौंजाका करिब सात सय घरधुरीले पनि टुकीकै सहारामा रात बिताइरहेका छन् । पटक–पटक लघुजलविद्युत् आयोजनामा समस्या देखिँदा स्थायी समाधान नहुँदा स्थानीय बासिन्दाले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्