सिन्धुलीको मरिण गाउँपालिकाद्वारा अनाथ बालबालिकालाई न्यानो पोसाक वितरण
सिन्धुली, पुस २६ । सिन्धुलीको मरिण गाउँपालिकाले चिसो मौसमको प्रभावबाट बालबालिकालाई जोगाउन अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक वितरण गरेको छ । मरिण गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय मरिण खयरसालमा अध्ययनरत २७ जना अनाथ तथा विपन्न बालबालिकालाई न्यानो पोसाक (ट्र्याकसुट) प्रदान गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्ता (प्रख्यात) ले विद्यालयमा अध्ययनरत १७ जना अनाथ र १० जना विपन्न बालबालिकालाई न्यानो पोसाक वितरण गर्नुभयो । केही दिनयता अत्यधिक चिसो बढेपछि बालबालिकाहरू बिरामी पर्न थालेको अवस्थामा उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पोसाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले जानकारी दिनुभयो ।
विद्यालयमा हाल अभिभावकविहीन, द्वन्द्वपीडित परिवारका १७ जना अनाथ बालबालिका अध्ययनरत छन् । ती बालबालिकाहरू चिसोबाट प्रभावित नहोस् भन्ने उद्देश्यले विद्यालयको सिफारिसमा पहिलो चरणमा २७ जना बालबालिकालाई न्यानो पोसाक वितरण गरिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताउनुभयो ।
अध्यक्ष मोक्तानका अनुसार मरिण गाउँपालिकाले श्री मावि मरिण खयरसालमा आवासीय व्यवस्थासहित १७ जना अनाथ बालबालिकालाई निःशुल्क अध्ययन गराउँदै आएको छ । गाउँपालिकाले बालबालिकाको संरक्षण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

