शिवपुरी–८ लामिडाँडामा सवारी दुर्घटना, मानवीय क्षति भएन
नुवाकोट,पुस २६ । छहरे-टोखा सडकखण्ड अन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित लामिडाँडामा सवारी दुर्घटना भएको छ । काठमाडौँबाट काबिलासतर्फ पिकनिकका लागि रिजर्भ गरिएको बा ५ ख ९५५ नम्बरको बसले नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २० च ९४३० नम्बरको कारलाई ठक्कर दिएको हो ।
दुर्घटना शिवपुरी–८ को बोहोरे खोलाभन्दा माथिल्लो क्षेत्रमा पर्ने लामिडाँडामा भएको जनाइएको छ । बसको ठक्करबाट कारमा भौतिक क्षति पुगे पनि दुर्घटनामा कुनै मानवीय क्षति नभएको छहरे अस्थायी प्रहरी पोस्ट स्रोतले जनाएको छ ।
दुर्घटनापछि घटनास्थलमा केही समय सवारी आवागमन प्रभावित भएको थियो । पछि सवारी साधन हटाइएपछि यातायात पुनः सामान्य भएको बताइएको छ ।
घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।

