पृथ्वी जयन्तीको अवसरमा विदुरमा ‘एकताको साइकल र्याली’ सम्पन्न
नुवाकोट,पुस २६। ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विदुर नगरपालिकामा एकताको सन्देश बोकेको साइकल र्याली सम्पन्न भएको छ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा भोलि पुस २७ गते मनाइने पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा साइकल र्याली आयोजना गरिएको हो ।
साइकल र्याली विदुर नगरपालिका–२ स्थित नुवाकोट दरबार क्षेत्रको भैरवीदेवी मन्दिर अगाडिबाट सुरु भई विदुर नगरपालिका–५ स्थित देविघाट जालपा मन्दिरसम्म पुगेको थियो । ऐतिहासिक महत्व बोकेको यस र्यालीले राष्ट्रिय एकता, इतिहासको स्मरण तथा वातावरण संरक्षणको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठले साइकल र्याली सफल बनाउन उपस्थित भई सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता र वातावरणमैत्री जीवनशैलीसँग जोडेर मनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
त्यसै अवसरमा देविघाट जालपा मन्दिरमा विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्षले साइकल र्यालीमा सहभागीहरूलाई स्वागत गर्दै धन्यवाद व्यक्त गर्नुभयो । “इतिहास सम्झौं, वातावरण बचाऔँ—साइकल प्रयोग बढाऔँ” भन्ने सन्देशसहित सम्पन्न भएको र्यालीले स्थानीयस्तरमा सकारात्मक सन्देश दिएको छ ।

