विशेष महाधिवेशन वैधानिक र व्यवहारिक रूपमा उचित छैन : प्रवक्ता महत



काठमाडौँ,पुस २६। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशन वैधानिक र व्यवहारिक दुवै कोणबाट उपयुक्त नरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको सान्दर्भिकता नरहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता महतले पार्टीको निर्णय सबैले मान्नुपर्नेमा जोड दिँदै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न आग्रह गर्नुभयो । नियमित महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न नसकिने भएपछि पार्टीले संशोधित कार्यतालिका पारित गरिसकेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन गर्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

उहाँले विशेष महाधिवेशनको बहसले पार्टीलाई विभाजित गर्न सक्ने भन्दै यस विषयलाई तत्काल रोकिनुपर्ने धारणा राख्नुभयो । “यो अवस्थामा विशेष अधिवेशन वैधानिक र व्यवहारिक दुवै हिसाबले उचित छैन, त्यसमा सहभागी हुन हुँदैन,” उहाँले भन्नुभयो, “पदाधिकारीहरू स्वयं पार्टीको निर्णय कार्यान्वयनमा लाग्नुपर्छ ।”

प्रवक्ता महतले अब पार्टीले सम्पूर्ण शक्ति आगामी आम निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी एकताबद्ध भएर निर्वाचनमा जाने, आम कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्ने र नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाट पारित गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्