एकीकरण मार्ग पदयात्रा टोली गोरखाबाट काठमाडौँ आइपुग्यो
काठमाडौँ,पुस २६ । ३०४औँ पृथ्वी जयन्तीको अवसरमा नेपाल एकीकरणको ऐतिहासिक यात्रालाई स्मरण गर्दै नेपाली सेनाले सुरु गरेको ‘एकीकरण मार्ग पदयात्रा’ टोली शनिबार काठमाडौँ आइपुगेको छ । गोरखा दरबारबाट सोमबार प्रस्थान गरेको पदयात्रा टोलीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हिँडेको ऐतिहासिक पदमार्ग पछ्याउँदै काठमाडौँसम्मको यात्रा पूरा गरेको हो ।
नेपाली सेनाको पदयात्रा टोली तारकेश्वर नगरपालिका–३ पाँचमाने पुगेपछि भव्य स्वागत गरिएको थियो । उक्त अवसरमा तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनलगायत स्थानीय जनप्रतिनिधि र नागरिकले बाजागाजा, खैजडी भजनसहित टोलीलाई स्वागत गरेका थिए ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा आयोजना गरिएको यस पदयात्राले नेपाली इतिहास, एकीकरण अभियान र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्य लिएको नेपाली सेनाले जनाएको छ । पदयात्राले ऐतिहासिक मार्गको संरक्षण र भावी पुस्तालाई राष्ट्रिय इतिहासप्रति सचेत गराउने अपेक्षा गरिएको छ ।

