निर्वाचनमा केन्द्रित हुन ओलीको निर्देशन, फागुन २१ मै निर्वाचन हुनुपर्ने जोड
काठमाडौं,पुस २६। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन निर्देशन दिएका छन्। शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले निर्वाचनको वातावरण अझै पूर्ण रूपमा नबनेको भए पनि संविधानअनुसार तोकिएको समयमा निर्वाचन गर्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष ओलीले विभिन्न बहानामा निर्वाचन सार्ने वातावरण सिर्जना भइरहेको उल्लेख गर्दै सरकार भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाए। नेताहरूलाई लाञ्छना लगाउने, आरोप लगाएर फसाउन खोज्ने प्रवृत्ति अझै कायम रहेको भन्दै उनले सरकारलाई फागुन २१ गते नै निर्वाचन गर्न आग्रह गरे।
उनले निर्वाचनसम्बन्धी अन्य निर्णयहरू राजनीतिक सहमतिका आधारमा मात्रै गर्न सरकारलाई सुझाव दिँदै लोकतान्त्रिक अभ्यासको सम्मान हुनुपर्ने बताए। साथै, समानुपातिक निर्वाचनका लागि पार्टीले सर्वसम्मत रूपमा बन्दसूचीमा नाम सिफारिस गरिसकेको जानकारी दिए।
प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा केही स्थानमा एकल सिफारिसका नाममा विवाद देखिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता विवाद सिर्जना नगर्न र पार्टीको निर्देशनअनुसार एकताबद्ध रूपमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे।

