विशेष महाधिवेशनभन्दा पार्टी एकता र निर्वाचनमा केन्द्रित हुन नुवाकोटसहित विभिन्न जिल्ला सभापतिहरूको आग्रह



काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नुवाकोटसहित विभिन्न जिल्लाका सभापतिहरूले वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील रहेको जनाउँदै पार्टीलाई विशेष महाधिवेशनको बहसभन्दा माथि उठेर एकता र आगामी आम निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। उनीहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रतिनिधिसभा विघटनपछि गठित अन्तरिम सरकारले फागुन २१ गतेका लागि आम निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।

वक्तव्यमा नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर फरक–फरक धारणा देखिए पनि केन्द्रीय कार्यसम्पादन समितिले पुस १८ गते नै १५औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्म सम्पन्न गर्ने कार्यतालिका पारित गरिसकेको उल्लेख गरिएको छ। विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहमा मात्र रहेको र हाल त्यसका लागि उपयुक्त वातावरण नरहेको भन्दै पार्टी विभाजन रोक्न केन्द्रीय नेतृत्वले वार्ता र संवादलाई प्राथमिकता दिनुपर्ने धारणा सभापतिहरूले व्यक्त गरेका छन्।

उनीहरूले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, आसन्न प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले संविधानको संरक्षण र राजनीतिक निकासका लागि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। यस्तो अवस्थामा अन्य भेला र समारोहमा अल्मलिनुभन्दा सिंगो पार्टी एकजुट भएर चुनौती सामना गर्नु आजको आवश्यकता भएको वक्तव्यमा उल्लेख छ।

जिल्ला सभापतिहरूले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई फागुन २१ गते हुने आम निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन आह्वान गर्दै “जय नेपाल”को नारा दिएका छन्। उक्त प्रेस वक्तव्यमा नुवाकोट, धादिङ, मोरङ, दोलखा, खोटाङ, चितवन, कालीकोट, रुपन्देही, दैलेख, पाँचथर, बाजुरा, पश्चिम नवलपरासीसहित विभिन्न जिल्लाका सभापतिहरूको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस्