पूर्वमन्त्री चौधरीको निधन
सप्तरी,पुस २६ । राष्ट्रिय मुक्ति पार्टीका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्द्रकान्त चौधरीको ८५ वर्षको उमेरमा निधन भएको छ।डाक्नेश्वरी नगरपालिका वडा ५ पातो निवासी चौधरीको शनिबार बिहान ११ः३० बजे आफ्नै निवासमा निधन भएको हो।
स्व. चौधरी नेपाली राजनीतिमा अनुभवी तथा सम्मानित नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यको हैसियतमा उहाँले जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
राष्ट्रिय मुक्ति पार्टीका उपमहासचिव गजेन्द्र मण्डलले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको बताउनुभयो । चौधरी सरल स्वभाव र विकासप्रेमी नेताका रुपमा लोकप्रिय रहनुभएको उहाँको भनाइ छ।
उहाँको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन् । स्व. चौधरीका दुई छोरा र एक छोरी छन्। राजनीतिक जीवनको प्रारम्भिक चरणमा उहाँ लामो समयसम्म नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको र पछि मधेस केन्द्रित राजनीतिमा सक्रिय हुँदै उहाँ तत्कालीन राजपामा प्रवेश गर्नुभएको थियो ।

