रवि–बालेन सहमतिले मुलुकलाई निर्वाचनतर्फ उन्मुख गरायो : असिम शाह
काठमाडौँ, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाहले मुलुक अहिले निर्वाचनमा केन्द्रित भइसकेको बताएका छन्। लामो समयसम्म निर्वाचनबारे विभिन्न दृष्टिकोण सार्वजनिक भइरहेका बेला रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको राजनीतिक सहमतिले देशलाई निर्वाचनतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
शाहले सभापति लामिछाने र मेयर शाहको पृष्ठभूमि, स्वभाव, विचार र राजनीतिक यात्रा फरक भए पनि दुवै वैकल्पिक शक्तिका रूपमा उदाएकाले उनीहरूबीचको राजनीतिक सहयात्राले नयाँ राजनीतिक गति दिएको बताए। “दुवै फरक पृष्ठभूमिका भए पनि वैकल्पिक शक्तिका रूपमा उभिएका नेताबीचको सहकार्यले मुलुकलाई निर्वाचनतर्फ धकेलेको हो,” उनले भने।
शाहका अनुसार दुवै नेताबीच भएका कैयौँ भेटघाटमा आपसी मनस्थिति बुझ्ने, सन्देश आदान–प्रदान गर्ने र संवादको वातावरण बनाउन आफू लगायत केही व्यक्तिले पहल गरेका थिए। उक्त सहमति केवल राजनीतिक गणितमा सीमित नभई व्यक्तिगत विश्वास र सम्बन्धले पनि महत्वपूर्ण भूमिका खेलेको उनको दाबी छ।
“कतिपयले यो सहमति अदृश्य शक्तिका कारण भएको भन्ने आरोप लगाए, तर त्यहाँ हामी केही साथीहरू मात्रै थियौँ,” उनले स्पष्ट पारे, “त्यो सहमतिको यात्रा सहज थिएन। सभापति लामिछानेको जेल बसाइँ, अदालती प्रक्रिया, मेयर बालेनको पारिवारिक शोकजस्ता धेरै अवरोध आए। तर अन्ततः दुवैबीच नयाँ राजनीतिक समीकरणको आधार तयार भयो।”
उनले यो सहकार्यलाई केवल चुनावी रणनीतिमा सीमित नभई दीर्घकालीन राजनीतिक परिवर्तनका लागि भएको पहलको रूपमा व्याख्या गरे। सात–आठ घण्टासम्मको गहिरो संवाद, आपसी समझदारी र देश विकासप्रतिको समान चाहनाले दीर्घकालीन सहकार्यको आधार बनेको उनको बुझाइ छ।
वैकल्पिक राजनीतिक शक्तिहरू छरिएर नभई एकजुट हुनुपर्ने आवश्यकता महसुस भएपछि आफूहरूले पहल थालेको शाहले बताए। जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा रास्वपाले वैकल्पिक शक्तिहरूलाई एउटै मञ्चमा ल्याउने प्रयासलाई निरन्तरता दिइरहेको उनले उल्लेख गरे।
“छरिएर रहेका वैकल्पिक शक्तिहरूलाई एउटै प्लेटफर्ममा उभ्याउनु आवश्यक थियो, र त्यसका लागि उपयुक्त मञ्च रास्वपा नै बन्यो,” शाहले भने।

