उज्यालो नेपालको पार्टी अध्यक्षमा कुलमान घिसिङ नियुक्त
काठमाडौं,पुस २६ । उज्यालो नेपालको पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त भएका छन्। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई नयाँ अध्यक्षमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष घिसिङले आफूले आजै पार्टीको सदस्यता लिएको र सोही बैठकबाट अध्यक्षको जिम्मेवारीसमेत प्राप्त गरेको जानकारी दिए। पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आगामी दिनमा पार्टीलाई थप सक्रिय बनाउने बताए।
यसै बैठकले गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग भएको पार्टी एकता भंग गर्ने निर्णयसमेत गरेको छ। उज्यालो नेपालको पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले आपसी सहमति कार्यान्वयन गर्न नचाहेको आरोप लगाउँदै एकता कायम राख्न सम्भव नभएको निष्कर्ष निकालेको छ।
पार्टीको नेतृत्व परिवर्तन र एकता भंगसँगै उज्यालो नेपालको पार्टीले आगामी राजनीतिक रणनीति नयाँ ढंगले तय गर्ने संकेत दिएको छ।

