भेट्रान कप फुटबलको उपाधि विदुर वडा नं ५ लाई
विदुर, पुस २६ । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा भोलि मनाउन लागिएको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित ४० वर्ष माथि उमेर समूहको (भेट्रान कप) फुटबल प्रतियोगिताको उपाधि विदुर नगरपालिका वडा नं ५ ले जितेको छ।
फाइनल खेलमा वडा नं ५ ले वडा नं ६ लाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगिताको उद्घाटन नगरप्रमुख श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको औपचारिक सुरुवात गर्नुभएको थियो।
खेल अवलोकनका लागि नगरप्रमुखका साथै वडा नं ३ का अध्यक्ष बद्रीप्रसाद रिमाल, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, एन्फाका विभिन्न पदमा रहनुभएका पदाधिकारीहरू तथा ठूलो संख्यामा खेलप्रेमी नगरवासीहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई खेलकुदमार्फत उत्सवमय बनाउनुका साथै आपसी सद्भाव र एकतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

