तेस्रो खोलेगाउँ महोत्सव पुस ३० मा हुँदै, इन्द्रेणी सांस्कृतिक टोली आउदै
नुवाकोट,पुस २६ । स्थानीय उत्पादनको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यका साथ तेस्रो खोलेगाउँ महोत्सव यही पुस ३० गते शिवपुरी गाउँपालिका–६ स्थित खोलेगाउँमा आयोजना हुने भएको छ।
महोत्सवमा स्थानीय कृषि तथा हस्तकलाजन्य उत्पादनहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिने आयोजकले जनाएको छ। यसले किसान तथा स्थानीय उद्यमीहरूलाई आफ्ना उत्पादनको बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आयोजक समितिका अनुसार खोलेगाउँ महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै कलाकारहरूलाई प्रोत्साहन गर्दै मौलिक संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्नेछ। वडा अध्यक्ष विष्णु श्रेष्ठले महोत्सवले गाउँको पहिचान उजागर गर्दै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।
यस वर्षको महोत्सवमा सांस्कृतिक प्रस्तुति प्रमुख आकर्षणका रूपमा रहने वडा सदस्य कमल लामा (नुवाकोटे टाइगर)ले जानकारी दिनुभयो। महोत्सवमा इन्द्रेणी सांस्कृतिक कार्यक्रमका प्रमुख कृष्ण कडेलसहितका कलाकारहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
कला–संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर आयोजना गरिने यस महोत्सवलाई स्थानीय पहिचान झल्किने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै महोत्सवले किसान, स्थानीय उद्यमी र कलाकारलाई प्रोत्साहन गर्नुका साथै नुवाकोटको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले बताएका छन्।
कृषि, व्यापार, संस्कृति र पर्यटनलाई एउटै मञ्चमा जोड्ने यो सामुदायिक पहलले नुवाकोटको मौलिकता र सम्भावनालाई उजागर गर्ने आयोजकको विश्वास रहेको छ।

