पार्टी नाम परिवर्तनको प्रस्तावपछि रास्वपा–उनेपा एकता भङ्ग
काठमाडौँ,पुस २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम परिवर्तनसम्बन्धी प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी (उनेपा)सँगको एकता भङ्ग भएको जनाएको छ। उनेपासँगको एकता टुटेपछि आज बसेको रास्वपा सचिवालय बैठकले एकताले पूर्णता पाउन नसक्नुको कारणबारे समीक्षा गरेको हो।
रास्वपाका नेता शिशिर खनालका अनुसार कुलमान घिसिङबाट एकपछि अर्को नयाँ प्रस्ताव आउन थालेपछि पार्टी एकता अघि बढ्न नसकेको निष्कर्ष बैठकले निकालेको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेले एकताका क्रममा भएको सहमतिभन्दा फरक र अतिरिक्त पूरक प्रस्तावहरू आएपछि समस्या सिर्जना भएको जानकारी गराउनुभएको थियो।
खनालका अनुसार घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँड गर्नुपर्ने तथा पार्टीका अन्य पदाधिकारीमा आफ्ना पार्टीका नेताहरूलाई नियुक्त गर्नुपर्ने लगायतका प्रस्ताव अघि सारेपछि एकता भङ्ग भएको हो।
रास्वपाको दाबीअनुसार एकताका क्रममा वरिष्ठ उपसभापति, महामन्त्री, अन्य पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्रसम्मको बाँडफाँडसम्बन्धी प्रस्ताव आउँदा सहमति कार्यान्वयन गर्न कठिन भएको थियो। यही कारणले एकतालाई पूर्णता दिन नसकिएको नेता खनालले बताए।
यसअघि रास्वपा र उनेपाबीच भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र मेरिटोक्रेसीको नारालाई मूल आधार बनाउँदै सातबुँदे सहमति भएको थियो। तर सहमतिभन्दा बाहिरका प्रस्तावहरू आएपछि उक्त एकता औपचारिक रूपमा भङ्ग भएको रास्वपाले जनाएको छ।

