विशेष महाधिवेशनले कांग्रेसमा फुटको संकेत ? संस्थापन असहमत, बहुमत प्रतिनिधि पक्षमा
काठमाडौं, पुस २७। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा सुरु हुन लागेको विशेष महाधिवेशनले पार्टीभित्र विभाजनको बहस तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाको सहमति बिना आयोजना हुन लागेको महाधिवेशनमा संस्थापन पक्ष सहभागी नहुने अडानमा छ।
महामन्त्रीद्वयले १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरका आधारमा विधानअनुसार विशेष महाधिवेशन आह्वान गरिएको दाबी गरेका छन् भने देउवा पक्षले यसलाई अवैधानिक बताएको छ। विशेष महाधिवेशन पक्षधरले ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेका छन्।
पार्टी एकता जोगाउन राष्ट्रपति रामचन्द्र पौडेल, डा. शेखर कोइरालालगायत नेताहरूले पहल गरे पनि ठोस सहमति जुट्न सकेको छैन। यसैबीच ५ प्रदेश सभापति र ४७ जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बहिष्कार गर्दै फागुन २१ को निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।
यता सभापति देउवा निकट मानिएका पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा उभिएपछि कांग्रेसभित्रको मतभेद झन् स्पष्ट बनेको छ।

