“कुलमानको अपमान देशकै अपमान हो” — रवि, बालेन र रास्वपामाथि दिलनिशानी मगरको तीखो प्रहार



काठमाडौं,पुस २७ । लेखक तथा स्तम्भकार दिलनिशानी मगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र उनीहरूका समर्थकहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गरेका छन्। उनले कुलमान घिसिङजस्ता व्यक्तित्वलाई नैतिकताको पाठ सिकाउने अधिकार रवि लामिछानेसँग नरहेको बताएका छन्।

मगरले अदालतमा धरौटी बुझाउँदै र तारिख धाउँदै हिँडिरहेका रवि लामिछानेले नैतिकताको कुरा गर्नु हास्यास्पद भएको उल्लेख गर्दै प्रधानमन्त्री पद त्यागेको भन्दै नाक फुलाउनु नपर्ने टिप्पणी गरेका छन्। उनले चुनावी स्वार्थका कारण “सोझा तामाङ”को मन्त्री पद गुमाएकोप्रति माफी माग्नुपर्ने धारणा व्यक्त गरेका छन्।

फेसबुक स्टाटसमा मगरले केही सेलिब्रेटीहरूले कुलमान घिसिङलाई खिस्सी गरेकोप्रति आपत्ति जनाउँदै, “कुलमान कोही पनि होइन, तर देशभर २४ घण्टा बिजुली पुर्‍याउने मान्छे हो” भनेका छन्। उनले कुलमानले रास्वपा वा कुनै दलका लागि नभई देशका लागि योगदान दिएको उल्लेख गर्दै अग्रजको सम्मान गर्न आग्रह गरेका छन्।

मगरले रवि लामिछानेसँग उनका सहोदर दाइ हरिशरण लामिछानेसमेत टिक्न नसकेको उल्लेख गर्दै कुलमान घिसिङलाई जबर्जस्ती कुनै दलसँग जोड्नु गलत भएको बताएका छन्। साथै, रास्वपाका कार्यकर्ताहरूले कुलमानविरुद्ध ‘प्रचार युद्ध’ चलाएको आरोप लगाउँदै, कुलमानले ती कार्यकर्ताहरू जन्मिनुअघि नै देशका दर्जनौँ सफल जलविद्युत् आयोजनाको नक्सा कोरिसकेको दाबी गरेका छन्।

मेयर बालेन शाहप्रति पनि आक्रामक टिप्पणी गर्दै मगरले सिसडोलका जनतासँग संवाद गर्न नसक्ने व्यक्तिले कुलमानलाई सम्झाउन नसक्नु स्वाभाविक भएको बताएका छन्। कुलमानको योगदानको तुलना गर्दै उनले “कुलमानको अगाडि बालेन र रवि केही पनि होइनन्” भन्ने अभिव्यक्ति दिएका छन्।

मगरको यो स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। समर्थक र आलोचकबीच बहस चर्किएको छ भने कुलमान घिसिङको भूमिकाबारे पुनः चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्